ढिकुरपोखरी । “ढिकुरपोखरीको सान, तीजमा भकुण्डो हाम्रो पहिचान” भन्ने नाराका साथ आउँदो भदौ १८ देखि २२ गतेसम्म गर्विलो इतिहास बोकेको ४३औ हरितालिका तिज मेला एवं आमन्त्रित नकआउट फुटवल प्रतियोगिता– २०८१ हुने भएको छ ।
ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सबै खेलहरु अन्नपूर्ण गाउँपालिका–०२, ढिकुरपोखरी, कास्कीमा अवस्थित माछापुच्छ्रे बिद्यालयको खेल मैदानमा हुने पनि आयोजकले जानकारी दियो ।
हरितालिका तिज मेला तथा फुटबल प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य इतिहास र परम्पराको जगेर्ना गर्न, अन्नपूर्ण फुटबल एकेडेमीको निरन्तर संचालन गर्न, खेलाडीहरुको बिकासको लागि विभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागी गराउन तथा विद्यालयसँग समन्वय गरि खेल मैदानको स्तरोन्नति र निर्माण गर्न ्ररहेको आयोजकले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकाको कार्यालय, कास्कीको बिशेष सहयोग रहने मेलामा पुरूष फुटबलतर्फ गण्डकी प्रदेशकै उत्कृष्ट १० पुरूष फुटवल क्लबहरूले सहभागिता जनाउने पनि आयोजकले जानकारी गरायो ।
पुरूष फुटबलतर्फ बिजेताले उपाधिसहित नगद तीन लाख एक हजार तीन सय (३,०१,३००) हात पार्नेछ भने उप–बिजेताले एक लाख एकहत्तर हजार एक सय (१,७१,१००) प्राप्त गर्नेछ । त्यसैगरी महिला फुटबल प्रतियोगितातर्फ गण्डकी प्रदेशकै उत्कृष्ट चार महिला फुटबल क्लबहरू भिड्ने छन् । महिला फुटबलतर्फ बिजेताले उपाधिसहित चौतिस हजार तिन सय तेत्तिस (३४,३३३) र उप–बिजेताले अठार हजार सात सय सत्तहतर (१८,७७७) प्राप्त गर्नेछन् ।
स्मरण रहोस्, अघिल्लो बर्ष पुरूष फुटवलतर्फ के.आइ.इ सी बुन एफ सी र महिला फुटबलतर्फ आयोजक ढिकुरपोखरी युवा सञ्जालले उपाधि जितेको पनि आयोजकले जानकारी दियो । त्यस्तै सोही अवसरमा महिला बिशेष तिज गीत प्रतियोगिता पनि आयोजना गरिनेछ ।
भौतिक रूपमा ३०,००० भन्दा धेरैले मेलाको अवलोकन गर्ने बिश्वास आयोजकले लिएको छ । सामाजिक उत्तरदायित्व र खेलकुदका गतिबिधिहरूमा क्रियाशील ढिकुरपोखरी युवा सञ्जाल द्वारा आयोजना गरिने यस मेलालाई भब्यताको साथ सफल पार्न साविक ढिकुरपोखरी गाविसका स्थानिय महानुभावहरू साथै खेलप्रेमी सम्पूर्णलाई भौतिक एवं आर्थिक सहयोग गर्नको लागि आयोजकले आग्रह समेत गरेको छ ।