
काठमाडौं । जारी साफ यु–२० च्याम्पियनसिपतर्फ भुटानले बुधबार समूह चरणको आफ्नो दोस्रो खेलमा रोमाञ्चक जित हात पार्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई कायम राखेको छ ।
समूह बी तर्फको आफ्नो दोस्रो खेलमा भुटानले दश खेलाडीमा सिमित भएर पनि माल्दिभ्सलाई २–१ ले हरायो । एन्फा कम्प्लेक्समा भएको खेलको २२औं मिनटमा जितसुन दोजीले भुटानका लागि शुरुवाती गोल गरेका थिए ।
यद्यपि दोस्रो हाफमा भुटान दश खेलाडीमा खुम्चिन पुग्यो । भुटानी गोलरक्षक सोनाम तेन्जिङले बक्स बाहिर ह्याण्डबल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । त्यहि फलमा माल्दिभ्सले फ्रिकिकको अवसर पायो । जसलाई फिराकले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
यद्यपि खेलको अन्तिमतिर नोवाङ छोपेलले भुटानका लागि दोस्रो र निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरेका थिए । यो जितपछि भुटानको २ खेलबाट ३ अंक भएको छ । समूह बी तर्फ भुटानसँगै भारतको पनि ३ अंक छ ।
भुटानले आफ्नो पहिलो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो । अब समूह चरणको अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्ने छन् । यही खेलको नतिजाले समूह बी बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।