
काठमाडौ । उपाधिको बलियो प्रत्याशी मध्ये एक गत संस्करण को उपविजेता बंगलादेशलाई हराउँदै आयोजक नेपाल समूह ए बाट समूह विजेताका रुपमा जारी साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले गोल गरे । पराजित बंगलादेशका लागि मिराजुल इस्लामले गोल गरेका थिए ।
समूह ए मा तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह विजेताका रुपमा र तीन अंक जोडेको बंगलादेश समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन । श्रीलंका भने अंकविहिन पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।
नेपालले सेमिफाइनलमा सम्भवत भुटानको सामना गर्नेछ । त्यस्तै बंगलादेशले भने साविक विजेता भारतसँग खेल्ने पक्का भएको छ ।