काठमाडौ (एजेन्सी) । चर्चित स्वीडिस फुटबल प्रशिक्षक स्वेन गोरान एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ । एरिक्सनको क्यान्सरका कारण निधन भएको हो ।
एरिक्सनले यसै वर्षको शुरुवाततिर जनवरीमा आफू बढीमा एक वर्ष बाँच्ने बताएका थिए । र, उनको भविष्यवाणी करिब-करिब यथार्थ पनि बन्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार एरिक्सनको उनकै निवासमा आइतबार निधन भएको हो ।
एरिक्सनले आफ्नो प्रशिक्षकीय कार्यकालमा चर्चित क्लबदेखि लिएर राष्ट्रिय फुटबल टोलीहरुको जिम्मेवारी पनि सम्हाले । यद्यपि उनले सन २००१ देखि २००६ सम्म इङ्ल्याण्डको जिम्मेवारी सम्हाल्नु सबैभन्दा विषेश रह्यो ।
एरिक्सनले इङ्लिस फुटबलको गोल्डेन जेनेरेशन मानिएको डेविड बेकह्याम, माइकल ओवेन, रियो फर्डिनान्ड, पाउल स्कोल्स जस्ता खेलाडीहरु सम्मिलित इङ्ल्याण्डको राष्ट्रिय फुटबल टोली सम्हाल्नुलाई उनी आफैले अविस्मरणीय मानेका थिए । त्यतिबेला इङ्ल्याण्डको राष्ट्रिय फुटबल टोली सम्हाल्ने एरिक्सन पहिलो गैर इङ्लिस प्रशिक्षक समेत थिए ।
एरिक्सनले आफ्नो करियरको अन्तिम समय एसियाली मैदानमा खर्चिए । उनले चाइनिज क्लबहरु ग्वाङ्झु आरएण्डएफ, सांघाई एसआईपिजी, शेन्झेन हुँदै सन २०१८-१९ सम्म फिलिपिन्सको जिम्मेवारी सम्हालेका थिए ।
त्यसबाहेक उनले म्यानचेष्टर सिटी, लेस्टर सिटी, बेनफिका, लाजियो, रोमा, मेक्सिको, आइभोरी कोस्ट जस्ता टोलीहरुको प्रशिक्षकीय जिम्मेवारी पनि सम्हालेका थिए । उनको निधनप्रती विश्व फुटबलले दुख जनाईरहेको छ ।
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर