
कोटिहवा । मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २२औं संस्करणको तयारी पूरा भएको छ । आयोजक लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
तिलोत्तमा–१५ कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक भौतिक तयारी पनि अन्तिम चरणमा रहेको खेल संयोजक कृष्ण गुरुङले जानकराी दिए । उनले प्रतियोगिताको यस संस्करण पनि भव्य रुपमा आयोजना गर्ने लक्ष्य लिएको बताए ।
स्व. कमलराज पाठकको स्मृतिमा उनकी श्रीमती तथा सिद्धार्थ ईट्टा उद्योगकी प्रोप्राइटर लक्ष्मी पाठक, छोरा अभिषेक पाठक र छोरीहरु दिपा पाठक, कृति पाठक र आकृति पाठकले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ ।
तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को कार्यालय क्लब संरक्षक तथा सह–प्रायोजक रहेको प्रतियोगिताको विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक प्रकाश पाण्डेले बताए ।
त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल र क्वाटरफाइनलसम्म टिकटदर रु. १०० तोकिएको तथा सेमिफाइनल र फाइनलमा २०० तोकिएको पनि आर्थिक संयोजक पाण्डेले जानकारी दिए । त्यस्तै महिला दर्शकहरुलाई अन्य दिन प्रवेश निःशुल्क भए तापनि सेमिफाइनल र फाइनलमा ५० प्रतिशत टिकट शुल्क पनि जानकारी गराइयो ।
प्रतियोगितामा रुपन्देहीसँगै स्याङ्जा, कपिलवस्तु, नवलपरासी र पाल्पाका गरी कुल १२ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको गत संस्करण फर्साटिकर युवा क्लब, फर्साटिकरले जितेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न कुल २३ लाख १५ हजार खर्च हुने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए । साथै प्रतियोगितालाई यसपटक पनि सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरे ।
सोही अवसरमा २२औं लिस्नु कपमा प्रतियोगिता अवधिभर सहभागि क्लबका खेलाडीहरुलाई १ लाखको दुर्घट्ना बिमाको व्यवस्था गरिएको पनि आयोजक क्लबका अध्यक्ष मल्लले बताए । यसले खेलाडीहरुको स्वास्थ्य सुरक्षा र मनोबल थप मजबुत बनाउने विश्वास समेत लिए ।