
पिपरिचापा । रोमाञ्चक जितका साथ जनज्योति युवा क्लब, डिंगरनगर यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा जनज्योतिले इभोलुशन क्लब अफ बुटवल, तामनगरलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । जनज्योतिको जितमा आयुष गुरुङ र सुरज आले मगरले गोल गरे । पराजित इभोलुशनका लागि भने अजित बिकले एक मात्र गोल फर्काएका थिए ।
खेलमा जनज्योतिका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ १५ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल हरैया युवा क्लब, हरैया र विश्व शान्ति युवा क्लब, सालझण्डी बीच हुने खेल संयोजक रोशन राना मगरले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।