News तेस्रो चरणको अन्तिम खेलमा आर्मीको गोल बर्षा
गोलनेपाल

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत उपाधिको दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले तेस्रो चरणको अन्तिम खेलमा मंगलबार भारी अन्तरको जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशमाथि १४–१ को एकतर्फी जित हात पारेको हो ।

आर्मीको जितमा दिपा शाहीले ह्याट्रिकसहित एक्लेले पाँच गोल गरिन् । त्यस्तै अनिता लम्जेलले दुई गोल गर्दा बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, बिमला बिक, सञ्जु कुमाल र साबित्रीदेवी मगरले समान एक–एक गोल गरे । थप एक गोल आर्मीले आत्मघाती गोलका रुपमा पाएको थियो भने सुदुरपश्चिमले फर्काएको एक गोल पनि आत्मघाती गोलका रुपमा सम्भव भएको थियो ।

यो जितपछि आर्मीको ३ खेलबाट ६ अंक भएको छ र लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित सुदुरपश्चिम भने अंकविहीन रुपमा पुछार मै संघर्षरत छ ।

कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

 

Post Comments