
कोटिहवा । तिलोत्तमा डर्बी भिडन्तका रुपमा रहेको स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कपको चौथो प्रिक्वाटरफाइनलमा झरना स्पोर्टस क्लब, कुञ्जलापुरले उत्कृष्ट जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा झरनाले शहरी प्रतिद्वन्द्वी तथा आयोजक लिस्नु युवा क्लब, कोटिहवामाथि ५–१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
राष्ट्रियस्तरका चर्चित खेलाडीहरुले भरिएको दुवै टोली बीचको हेभिवेट भिडन्तमा झरना हावी रह्यो । झरनाका लागि विवेक गुरुङले दुई गोल गरे भने कप्तान कुलदिप कार्की, आदित्य शाक्य र जोन ग्लोरीले थप एक–एक गोल गरे । पराजित लिस्नुका लागि भने ओहिनेबा हेनरीले एक मात्र गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत भदौ २६ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र पाहुना टोली कपिलवस्तु–११ बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।