
काठमाडौं, असोज ३ गते । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं ८ ले वडा नं १३ लाई टाइब्रेकरमा ३–२ ले हराएको छ ।
लैनचौर फुटसल मैदानमा भएको सो खेलको निर्धारीत समय गोलरहित बराबरमिा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटबाट जितको छिनोफानो गरिएको हो । सो खेलमा विजयी टिमका गोलरक्षक मिसन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । यस नतिजासँगै गत उपविजेता वडा १३ को यात्रा पहिलो खेलमै सकिएको हो ।
अन्य खेलमा वडा नं ३१, वडा नं २२ र वडा नं २१ ले जित हात पारे । दिपक तामाङले गरेको गोल निर्णयक बनेपछि वडा ३१ ले वडा १ लाई १–० ले निराश बनायो । सो खेलमा गोलकर्ता दिपक नै उत्कृष्ट खेलाडी चुनिए । वडा २२ ले वडा १९ लाई पेनाल्टी सुटआउटमा २–० ले हरायो । निर्धारीत समयमा दुवै टिमले गोल गर्न सकेनन् । सो खेलमा वडा २२ का अजय महर्जन म्यान अफ दि म्याच चुनिए ।
शुक्रबार भएको चौथो तथा अन्तिम खेलमा वडा नं २१ ले वडा नं २८ लाई सहजै ४–० ले पराजित गर्यो । वडा २१ का लागि अनिकेत देउलाले दुई तथा सनिम देउला र रुपेश शाक्यले एक÷एक गोल गर्नुभयो । अनिकेतले सर्वश्रेष्ठ खेलाडीको पुरस्कार प्राप्त गरे ।
शनिबार प्रिक्वाटरफाइनलमा काठमाडौँ महानगरपालिका र वडा नं ९, वडा नं ६ र वडा नं ३, वडा नं १६ र वडा नं २० तथा वडा नं १४ र वडा नं १० बिच खेल हुनेछ ।