
चितवन । प्रतिस्पर्धात्मक खेलमा राईजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा आज (शुक्रबार) सम्पन्न खेलमा बिएफसीले राईजिङ स्टारलाई ३-२ ले पराजित गरेको हो । बिएफसीको जितमा राज भुसालले दुई तथा सन्जीब बिष्टले एक गोल गरे । राईजिङ स्टारका फागुराम थारु र कप्तान बिनोद केवतले एक-एक गोल फर्काए ।
खेलमा सुरुवाती १२ मिनेट भित्रै तीन गोल भएको थियो । तेस्रो मिनेटमा राजले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा सन्जीबले बिएफसीको अग्रता दोब्बर बनाए ।
सुरुवाती १० मिनेटमा नै दुई गोलले पछि परेपछि राईजिङ स्टार दबाबमा परेको थियो । १२ औं मिनेटमा फागुरामले फ्रीकिकमा उत्कृष्ट गोल गर्दै राईजिङ स्टारलाई खेलमा फर्काउने संकेत गरे ।
५६ औं मिनेटमा राजले ब्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३-१ को अग्रता लियो । ६३ औं मिनेटमा राईजिङ स्टारका कप्तान बिनोदले गोल गरे पनि हार टार्न सकेनन् । बिएफसीको जितमा दुई गोल गरेका राज म्यान अफ दि म्याच भए । बिएफसीले अब सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिससँग खेल्नेछ ।
प्रतियोगितामा शनिबार हेवी वेट भिडन्त हुनेछ । शनिबार बुटवल लुम्बिनी एफसी र न्यु स्टार सुनसरी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।