
काठमाडौं (एजेन्सी) । कोलम्बियामा सम्पन्न फिफा यु–२० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । फाइनलमा अर्को एसियाली प्रतिद्वन्द्वी जापानलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उत्तर कोरिया च्याम्पियन बनेको हो ।
समग्रमा उत्तर कोरियाको यो तेस्रो उपाधि समेत हो । यसअघि उत्तर कोरियाले सन् २००६ मा पहिलोपटक फिफा यु–२० महिला विश्वकपको उपाधि जितेको थियो । त्यसअघि अन्तिमपटक भने सन् २०१६ मा यो उपाधि उत्तर कोरियाले जितेको छ ।
फाइनलमा उत्तर कोरियाका लागि एक मात्र निर्णायक गोल गरेकी चोई इल–सोन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारिन् । साथै प्रतियोगिताभरि कुल ६ गोल गरेकी उनले गोल्डेन बुट समेत हात पारिन् ।
उपविजेता जापान फेयर प्ले टिम बन्यो । त्यस्तै अमेरिकाले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा अमेरिकाले नेदरल्याण्डसलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
स्मरण रहोस, सेमिफाइनलमा उत्तर कोरियाले अमेरिकालाई २–० ले हराएको थियो भने जापानले नेदरल्याण्डसमाथि १–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
(Pic: FIFA)