News बेपत्ता सबै बाल खेलाडीहरुको शव भेटियो
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा शनिबार आएको भिषण पहिरोमा बेपत्ता भएका सबै ६ जना बाल खेलाडीहरुको शव भेटिएको छ ।

स्मरणीय छ, सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।

उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो ।

बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो । जहाँ ४० बालकहरुले प्रशिक्षण लिइरहेका थिए । बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए ।

Post Comments