News युथ एकेडेमीका लागि एन्फा र एपिएफको सहकार्य
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरीको नेपाल एपिएफबीच युथ एकेडेमी सञ्चालनलाई लिएर मंगलबार ६ बर्षे लामो सम्झौता भएको छ ।

सम्झौतापत्रमा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल एपिएफका लागि एआईजी पुष्पराम केसीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार दुवै पक्षले २१ जना यु–१४ खेलाडीहरु एपिएफ क्लबका लागि छनौट गरि उनीहरुलाई फुटबल तालिम र अभ्यास गराइने छ । साथै १४ खेलाडीहरुको माध्यमिक तहसम्मको शैक्षिक खर्च दुवै पक्षले बेहोर्ने सहमति समेत भएको छ ।

सम्झौता कार्यक्रमपछि बोल्दै एन्फा अध्यक्ष शेर्पाले भने, "एकेडेमी सञ्चालनका लागि नेपाल एपिएफ स्कुलसँग सहकार्य गर्न पाउँदा हामीहरु निकै खुशी र उत्साहित छौं । यो एउटा ऐतिहासिक सम्झौता हो । सम्झौताले खेलाडी र प्रशिक्षकबीचको सम्बन्ध आगामी दिनहरुमा थप सुमधुर बन्ने आशा गरेका छौं ।"

नेपालमा फुटबलको विकास समयानुकुल रुपमा नयाँ ढंगले गर्दै अगाडी बढ्ने आफूहरुको लक्ष्य रहेको समेत एन्फा अध्यक्ष शेर्पाले बताए ।

उता नेपाल एपिएफका आइजि शैलेन्द्र खनालले एन्फासँगको यो सहकार्यले एपिएफ स्कुल पनि निकै उत्साहित भएको बताए । एन्फासँगको सहकार्यले क्षमतावान खेलाडीहरुको उत्पादनमा आफूहरु लागि पर्ने बताए । साथै उनले आफ्ना युवा खेलाडीहरुले सिनियर लेभलमा हुँदै राष्ट्रिय टोलीमा समेत सहभागिता जनाउन सक्ने विश्वास व्यक्त गरे ।

आइजी खनालका अनुसार एपिएफ स्कुलका खेलाडीहरुले एन्फासँगको सहकार्यबाट धेरै कुरा सिक्ने र त्यसले एपिएफ स्कुलका युवा खेलाडीहरुलाई फाईदा पुग्ने औंल्याए । उनका अनुसार एपिएफ स्कुलबाटै खेलाडीहरुलाई भविष्यमा व्यवसायीक रुपमै क्लबमा आवद्ध भएर खेल्न समेत टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

(तस्विरः एन्फा)

 

Post Comments