बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा शुरु भएको दशौं सप्तकोशी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा चुलाचुली फुटबल क्लब, दमक, झापाले उत्कृष्ट शुरुवात गरेको छ ।
बसन्त ऋतु माविको खेलमैदानमा भएको उद्घाटन खेलमा चुलाचुलीले इटहरी फुटबल क्लब, इटहरी, सुनसरीलाई ४–० ले हराउँदै विजयी शुरुवात गरेको हो । चुलाचुलीको जितमा पुजन चौधरीले दुई गोल गर्दा रोशन चौधरी र बबिन बोहराले थप एक–एक गोल गरे ।
खेलमा चुलाचुलीका बबिन बोहरा म्यान अफ दि म्याच चुनिए । यो जितसँगै चुलाचुली सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत कार्तिक ८ गतेको दोस्रो क्वाटरफाइनल खेल गोधुली फुटबल क्लब, सुनसरी र गाईघाट फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।
सप्तकोशी युवा क्लब, बराहक्षेत्र–७, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल ८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने यही कार्तिक १४ गतेका दिन हुनेछ ।