News जिन्दगीलाई जितेर फेरि फुटबल मै फर्किएका केशवराज
सुरज राना मगर

रामपुर । अभ्यासका क्रममा भित्री करङ भाँचिएर गम्भिर चोटिल भएपछि उपचारका लागि नर्भिक अस्पताल पुर्याइएका उनलाई “अब बाँच्छु” जस्तो लागेन । फुटबलमा रामपुर, पाल्पाका परिचित खेलाडी केशवराज श्रेष्ठ वि.सं. २०७९ को घट्ना यसरी सम्झिन्छन् र गम्भिर बन्छन् ।

“अभ्यास गर्दा चोटिल बनें । पछि निकै पिडा भयो । बाँच्दिन कि जस्तो लाग्न थाल्यो । अस्पतालमा उपचार गराउँदा भित्रको करङ हाड भाँचिएको रहेछ । फुटबल मै त्यतिका वर्ष सबथोक सुम्पिएर रमाएको मलाई अब फुटबल करियर सकियो” जस्तो लागेर अस्पताल कै बेडमा एक्लै रोएँ । भावुक हुँदै केशव सम्झिन्छन् ।

बुझ्न लागेदेखि फुटबल नै सबथोक लाग्ने केशवसँग अझै फुटबल खेल्ने र केही उपलब्धी हासिल गर्ने उनको सपना नर्भिक अस्पतालमा पुगेपछि लडबडिन पुग्यो । तर, बर्षौंदेखि फुटबलमा लागेर आफूलाई चोटसँग जुध्न परिपक्व बनाएका केशवले हार भने मानेनन् । “खेल्न नसके पनि फुटबल मै केही गर्छु ।” भन्ने अठोट लिएको केशव सम्झिन्छन् ।

त्यही अठोटले उनी अहिले खेल्न नसके तापनि फरक भूमिकामा छन् तर फुटबल मै छन् । अर्थात् उनी अहिले खेल्ने खेलाडीहरुलाई खेलाउने रेफ्री भएका छन् । फुटबलप्रतिको मोह, हुटहुटी र आफ्नो अठोटले फेरि मैदान फर्किन सकेकोमा केशव उत्साहित पनि छन् ।

परिवार र सबैको साथ

वि.सं. २०५६ सालमा पिता लक्ष्मण श्रेष्ठ र माता नन्दकुमारी श्रेष्ठको कोखबाट जन्मिएका केशव पूर्वी पाल्पाको पर्यटकीय नगर रामपुरका राम्रा र चल्तीका खेलाडी पनि हुन् ।

फुटबलमा उनलाई सबैको साथ थियो । “घर परिवार, सिनियर दाईहरु र साथीभाईको साथ, हौसलाले सधै फुटबल खेल्न प्रेरित गर्यो । मलाई परिवारबाट फुटबलमा रमाउँदा मात्र नभई खेलेरै जिवन र मृत्युको दोसाँधमा हुँदा पनि सधै हौसला मिल्यो । म अहिले जहाँ छु, बुवा, आमा र सबैको साथ र हौसलाले नै छु ।” केशव भन्छन् ।

वर्षौ फुटबलमा बिताएका केशवले खेलाडीका रुपमा स्थानीय पाल्पाली फुटबलदेखि लिएर आसपासका जिल्लाहरुमा पनि खेल्न भ्याए । सफलता हासिल गरे अनि उपलब्धी चुमे । त्यसबाहेक पुल्चोक स्पोर्टस क्लबका लागि सी डिभिजन र टोखा भगवती क्लबका लागि बी डिभिजन लिग पनि खेले । तर अझै माथि खेल्ने उनको योजना र सपना चोटले निमोठियो ।

रेफ्री बन्दाको खुशी

मैदानमा सधै खेलाडीका रुपमा कुद्ने केशवले वि.सं. २०७७ सालमा एन्फा रेफ्री कोर्ष पास गरे । अनि आधिकारिक रुपमै उनी रेफ्री बनें । “नौलो अनुभव भयो । एकतिर खुशी पनि । खेल्दा रेफ्रीको निर्णयप्रति झर्को मान्ने आफूलाई रेफ्री भएपछि त्यो जिम्मेवारी र भोगाईलाई बुझ्ने अवसर पाएँ ।”

कुराकानी कै क्रममा फुटबल खेलाडी भएर खेल्न सजिलो कि रेफ्री भएर खेलाउन? भन्ने प्रश्न गर्दा केशवले एकछिन अडिएर हाँस्दै भने, “दुवै गाह्रो हुँदो रहेछ ।” तर पनि केशवले आफू अझै फुटबल मै रमाईरहेको आफ्नो यो क्षणलाई ‘विशेष क्षण’ का रुपमा सम्झिन्छन् । “फुटबल मेरो विशेष थियो, अहिले पनि छ र आउने दिनहरुमा पनि हुनेछ ।” केशव भन्छन् ।

भविष्य नभए पनि नेपाली फुटबल मै अडिएको मन

अन्य खेलाडी, रेफ्रीहरुजस्तै केशव पनि वर्तमान नेपाली फुटबलको अवस्थाप्रति खुशी छैन । “बेला–बेला म पनि विदेश जाउँ कि? भनेर मनमनै सम्झिन्छु । तर फेरि म गएपछि नेपाली फुटबलले राम्रोगरी कोल्टे पो फेर्ला कि?” केशव हाँस्दै भन्छन् ।

फुटबल चलाउनेहरुले बुझेर पनि बुझ्न नसकेको जस्तो गर्दा नेपाली फुटबल धराशायी बनेको केशवको बुझाई छ । नेतृत्व गर्नेहरु आफ्ना लागि नभएर सबैका लागि बुझ्ने भए नेपाली फुटबल मात्र होईन, समग्र नेपालले नै कोल्टे फेर्ने केशवराज बताउँछन् ।

खैर उनलाई आफ्नो गृहनगर रामपुर, पाल्पालाई फुटबल कै हब बनाउने ठूलो सपना पनि छ । अहिले जारी दोस्रो ज्योतिपुञ्ज कपमा उनी मध्यरातसम्म प्रतियोगिता कै लागि भनेर काम गरिरहेको पनि बताउँछन् । प्रतियोगितालाई भव्य बनाउन र राष्ट्रियस्तरमा चिनाउन आफू मात्र नभई ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुदिप गौतम, फुटबल अभियन्ता अनिल शाही ठकुरी पनि लागेको र सबैको साथ मिलेको केशव बताउँछन् ।

“मलाई फुटबलमा रामपुरले यो परिचय र साथ दियो । अब रामपुरका लागि फुटबल कै माध्यमबाट केही गर्नुछ । मैले केही राम्रो गर्न सके आउने पिंढीका खेलाडीहरुलाई पनि त्यसले राम्रो गर्नेमा केशवराज आशावादी पनि छन् ।

Post Comments