News फुटबलमा हराएका सपनाहरु खोज्दै अशोक
सुरज राना मगर

सुपौली । कहिले घरपरिवार, छरछिमेकको निद्रा नखुल्दै बिहानै ४–५ बजेको समयमा उनी तिलोत्तमा नगरको सुपौली स्थित समपुर्ण खेल मैदान पुग्छन्, मैदान वरिपरि नियाल्छन्, मैदानको अवस्था, लगाइएको तारबार र निर्माण गरिएको अन्य भौतिक संरचना दिनहुँ नियाल्छन, मैदानमा आउने बाल तथा युवा खेलाडीहरुलाई आफूले जानेको फुटबलको ज्ञान, सिप, अनुशासन र महत्वबारे सिकाउँछन्, तिलोत्तमा नगरका पुराना खेलाडीदेखि चल्तीका युवा फुटबल अभियन्ता अशोक पुनको दैनिकी साँझसम्म उनको आफ्नो कामभन्दा फुटबलप्रतिको व्यस्तता बढी बित्ने गर्छ ।

झट्ट देख्दा र अनुमान लगाउँदा उनले दैनिक रुपमा गर्दै आएको नित्य कर्म अन्य जो कोहीले पनि गर्न सक्लान् जस्तो लाग्छ । तर, यसमा अशोक पुनको बुझाई र अर्थ भने केही फरक छ । सुपौली स्थित रहेको समपुर्ण खेलमैदानतर्फ देखाउँदै उनी भन्छन्, “अरुका लागि यो मैदान खेल्ने र मनोरञ्जन लिने मैदानका रुपमा होला । तर, मेरो लागि यहाँ अतितदेखि वर्तमानसम्मको धेरै अनुभव, खुशी, दुःख, संघर्ष र अनेक सपनाहरु कोरिएका छन् ।”

पुनका अनुसार फुटबल खेललाई जति गहिरिएर बुझ्न पर्ने हो, अहिलेका पुस्ताहरुले त्यसरी बुझ्न नसकेको उनको बुझाई छ । “मैदान एउटा खेलाडीका लागि पवित्र स्थल हो । भक्तले मन्दिरमा पुज्नु र एउटा असल खेलाडीले मैदानलाई बुझ्नु उस्तै–उस्तै हो ।” पुन सुनाउँछन् ।

देखेको फुटबल, भोगेको फुटबल

रुपन्देहीमा ५०–७० को दशकतिर अशोक पुनको नाम जिल्ला कै उदाउँदा खेलाडीका रुपमा स्थापित भईसकेको थियो । रुपन्देही–११ फुटबल क्लबले पोखराको प्रतिष्ठित क्याराभान, आहा गोल्डकप (हालः आहा! रारा पोखरा गोल्डकप) खेल्दा होस वा अन्य ठूला प्रतियोगिता खेल्दा होस, रुपन्देही–११ टोलीमा अशोक पुनको नाम नरहेको बिरलै हुने गथ्र्यो ।

हाल नेपालका चर्चित र रुपन्देहीका एक्ला एएफसी ए लाईसेन्स प्रशिक्षक प्राप्त अनुभवी प्रशिक्षक यम प्रसाद गुरुङ पनि अशोक पुनलाई त्यतिबेला राम्रा खेलाडीका रुपमा मान्छन् । प्रशिक्षक गुरुङले त्यतिबेला रुपन्देही–११ को प्रशिक्षकीय जिम्मेवारीे निभाउँदा अशोक पुनलाई मेहनती र सम्भावना बोकेका खेलाडीका रुपमा हेरेका थिए । प्रशिक्षक गुरुङ भन्छन्, “उनी (अशोक) राम्रा र प्रतिभावान खेलाडी थिए । टोलीमा उनको स्थान पनि बलियो थियो । तर, सबैको भोगाई र अवस्था उस्तै नहुने । अशोक पनि त्यही अवस्थाबाट गुज्रिन पुगे । परिस्थतिले उनलाई पनि अर्को मोडमा ल्याईदियो ।” 

साथीभाईसँगको रमाईलोका लागि फुटबलतर्फ आकर्षित भएका अशोक पुनले फुटबल मै सुन्दर सपना पनि देखेका थिए । त्यतिबेला काठमाडौंको चर्चित बी डिभिजन लिगमा टुसाल युथ क्लबका लागि पनि खेले । त्यति मात्र नभएर ब्रिगेज ब्वाईज क्लब (बीबीसी) का लागि ए डिभिजन लिग पनि खेले । स्थानीयदेखि राष्ट्रियस्तरमा थुप्रै प्रतियोगिता खेले, सफलता र उपलब्धी हासिल गरे, आफू फुटबलमा निखारे । तर, अझै माथी बढ्न सकेनन् ।

किन त? प्रश्न गर्दा, अशोक भन्छन्, “राम्रो खेल्दा खेल्दै चोटले पनि धेरै पिरोल्यो । परिवार र आफ्नो करियर पनि हेर्नु थियो । एक मनले सधै फुटबल मै खेलेरै अगाडी बढ्छु जस्तो लागे पनि सोंचे जस्तो यथार्थतामा भएन । खेल्न छोडे पनि फुटबल छोड्न सकेन ।” उनी फुटबलप्रतिको त्यो झुकाव यसरी सम्झिन्छन् ।

फुटबलमा साँचेको सपना

खेलाडीका रुपमा उनले आफ्नो करियरलाई अगाडी बढाउन नसके तापनि उनले साँचेको सपनाहरु पनि अझै तरोताजा छन् । अशोक भन्छन्, “केन्द्र मात्र होईन, मोफसलमा पनि राम्रा खेलाडीहरु छन् । राष्ट्रले तिनीहरुलाई पनि चिन्नुपर्छ र मोका दिनुपर्छ । मैले आफ्नो तर्फबाट यहाँका राम्रा खेलाडीहरुलाई अवसर दिन पहल गरिरहेको छु । सबैले देखेका सपना पूरा नहोलान, तर सपनाका भागीदारहरुलाई त्यो अवसरबाट वञ्चित गराउनु हुँदैन ।”

उनलाई हालै मात्रै चर्चित नेपाल सुपर लिग क्लब बुटवल लुम्बिनी फुटबल क्लबले आफ्नो एकेडेमीको मेन्टर–प्रशिक्षकका रुपमा समेत नियुक्त गरेको छ । आफूले पूरा गर्न नसकेका सपनाहरु उनले समपूर्ण मैदानमा आउने थुप्रै बाल खेलाडीहरुसँगै पूरा गर्ने योजना पनि बुन्दैछन् ।

फुटबलमा तपाईंको सपना के छ त? भन्ने प्रश्न गर्दा अशोक पुन मुसुक्क हाँस्दै भन्छन्, “सपना त धेरै छन् नि । तर फुटबलबारे चर्चा गर्दा स्थानीयदेखि राष्ट्रियसतरमा राम्रा र क्षमता बोकेका खेलाडीहरुले अवसर पाउनुपर्छ । यही कुराहरु फुटबल बुझ्ने अरुले पनि भन्दै आईरहेका छन् । फुटबलको सफलतामा देश रमाएको हेर्ने रहर छ ।”

उनका अनुसार फुटबल चलाउनेहरुले वास्तव मै नेपाली फुटबलको हित चाहन्छन् भने आफूहरुले नभई खेलाडीहरुलाई कमाउने बाटो खुला गरिदिनुपनेमा जोड दिन्छन् । उनी अगाडी भन्छन्, “कमाउने नै हो भने अन्य पेशा गर्दा पनि हुन्छ, लाखौं खेलाडीहरुको सपना निमोठेर खेलकुदलाई कमाउने भाँडो बनाउनु हुँदैन । बरु खेलाडीहरुलाई राम्रो कमाउने वातावरण बनाईदिनुपर्छ ।”

अशोक आफै पनि रुपन्देहीका चल्तीका क्लब समपुर्ण युवा क्लब, सुपौलीका संरक्षक हुन् । क्लब कै अध्यक्षका रुपमा रहेर पनि काम गरे । क्लब मै रहेर सामाजिक कार्यक्रमा उनको सक्रियता र उपस्थिति बलियो रहँदै आएको छ ।

क्लबलाई मोफसलदेखि राष्ट्रियस्तरमा उभ्याउन उनी प्रयासरत छन् । क्लबले वार्षिक रुपमा ‘समपुर्ण कप’ राष्ट्रियस्तरको फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ । क्लबमा उनले गरेको कामलाई सबैले साथ पनि दिईरहेका छन् । समपुर्ण युवा क्लबका वर्तमान अध्यक्ष अबिर पुन तथा कोषाध्यक्ष तारा केसी एकै स्वरमा भन्छन्, “उनी (अशोक) क्लबका अभिभावक जस्तै हुन् । उनकै रेखदेख र हामी सबैको हातेमालोमा क्लब अगाडी बढिरहेको छ ।”

ओझेलमा परे पनि आफ्नै खुशी

अशोकका अनुसार, फुटबलमा उनी दिनरात गर्दा उनलाई परिवारको परिवारको पनि राम्रो साथ मिलेको छ । “फुटबलमा लागेर समय दिन नसक्दा, सन्तानको खुशीलाई नियाल्न नसके तापनि घरपरिवारबाट सकेको साथ मिलेको छ । अनि सकेसम्म सबैलाई बुझाएरै फुटबलमा लागिरहेको छु ।”

यसरी दिनरात फुटबलमा भन्दा गाली खानुहुन्न त? भनेर प्रश्न गर्दा अशोक हाँस्दै भन्छन्, “गाली भन्दा पनि सबैबाट हौसला र साथ मिलेको छ । त्यसैले पनि मन मेरो मैदान मै रमाउँछ ।”

अशोकका अनुसार उनी फुटबलमा लागेर सबैको वाहवाही चाहदैनन् । “म पर्दा पछाडी नै ठिक छु । बरु नेपाली फुटबलले सफलता र उपलब्धीको उचाई छोएको हेर्न मन छ । त्यसो भयो भने म ओझेल मै परे पनि खुशी हुनेछु ।”

Post Comments