News भैरहवालाई हराउँदै शिवनगर सेमिफाइनलमा
गोलनेपाल

बुटवल । शिवनगर युवा क्लब बुटवलमा जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वाटरफाइनल खेलतर्फ शिवनगरले भैरहवा–११ लाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको शुरुवाततिरै ४५औं मिनटमा बिकास थापाले शिवनगरका लागि पहिलो गोल गरे । त्यस्तै ६७औं मिनटमा रुमेश बर्तौलाले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उता भैरहवाले पनि गोलका लागि प्रयास गरेको थियो तर केही अवसरहरुलाई सदुपयोग गर्न सकेन । खेलको म्यान अफ द म्याच भैरहवा कै उमेश थापा घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबरको खेल आयोजक सौभाग्य युवा क्लब (ए) र सराई एफसी, पाल्पाबीच हुने प्रचार प्रसार संयोजक कृष्ण कुमालले जानकारी दिए । रुपन्देही, पाल्पा र नवलपरासीका गरी कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

अन्य विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष दिपक गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आउँदो पौष ५ गतेका दिन हुने समेत अध्यक्ष गुरुङले बताए ।

Post Comments