News अनुसको 'डबल स्ट्राईक'सँगै मिड टाउन सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । बुटवल मिड टाउन युथ क्लब यहाँ जारी तेसे रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनलमा मिड टाउनले अमुवा एफसीको चुनौति २–१ ले समाप्त पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा सम्पन्न खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले । दोसे हाफ शुरु भएको तेस्रो मिनट मै अभय क्षेत्रीको गोलबाट अमुवाले खेलमा अग्रता लिएको थियो । क्षेत्रीले बक्स भित्रबाट गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो । यद्यपि मिडटाउनले खेलमा उत्कृष्ट पूनरागमन गर्यो ।

पहिलो गोल खाएको पाँच मिनट लगतै मिडटाउनका लागि अनुस थापाले बराबरी गोल फर्काए भने ४८औं मिनटमा दोस्रो तथा निर्णायक गोल गरे । मिडटाउनको जितमा निर्णायक बन्दै दुई गोल गरेका अनुस थापा नै खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक क्लबका संस्थापक सदस्य अर्जुन गुरुङले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत मंसिर २८ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र टिकुलीगढ युवा क्लबबीच हुने आयोजक क्लबका खेल संयोजक आशिष मगरले जानकारी दिए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले बताए । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको समेत अध्यक्ष ठकुरीले बताए ।

रुपन्देहीका कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो पौष ४ गतेका दिन हुने खेल संयोजक मगरले जानकारी दिए ।

Post Comments