
तुलसी । ब्रिगेड ब्वाईज क्लब, काठमाडौं यहाँ जारी चौथो हिरा डाँगी स्मृति कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बुधबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा ब्रिगेड ब्वाईजले अर्को पाहुना टोली कपिलवस्तु–११, कपिलवस्तुलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यसअघि अरनिको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने ब्रिगेड ब्वाईजले कपिलवस्तुमाथि ४–२ को जित निकाल्दै सेमिफाइनल स्थान पक्का गर्यो ।
प्रतियोगिता अन्तर्गत मंसिर ६ गते बिहीबारको पहिलो सेमिफाइनल खेल राईजिङ स्टार युवा क्लब, घोराही, दाङ र टरिगाउँ युथ क्लब, तुलसीपुर, दाङ बीच हुने आयोजकले जानकारी दियो ।
हिरा डाँगी फाउण्डेशन, तुलसीपुर, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०० हात पार्नेछ भने उपविजेताले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर ८ गतेका दिन हुनेछ ।