News फराकिलो जितका साथ सिम्रिक सेमिफाइनलमा
सुरज राना मगर

सुपौली । प्रतियोगिता कै सबैभन्दा फराकिलो अन्तरको जित निकाल्दै सिम्रिक फुटबल क्लब, बुटवल जारी स्व. बस बहादुर शेरपुजा तथा दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा सिम्रिकले कपिलवस्तु–११ माथि शून्यका विरुद्ध ७ गोलको एकतर्फी जित निकाल्यो । खेलमा सिम्रिकका लागि मिलन आले मगरले ह्याट्रिक गरे । त्यस्तै सुरज चौधरीले दुई गोल गर्दा नर बहादुर थापा र ईश्वर क्षेत्रीले थप एक–एक गोल गरे ।

खेलमा ह्याट्रिक गरेका सिम्रिकका मिलन आले खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर १८ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल न्यु सिर्जना युवा क्लब, करौजिया र जनज्योति क्लब, डिंगरनगरबीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

Post Comments