News पाँच गोलको 'थ्रीलर'मा रियल ब्रदर्शलाई तीन अंक
गोपाल काफ्ले

पथरी । टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ बिहीबार भएको समूह बी तर्फ प्रतिस्पर्धात्मक खेलमा द रियल ब्रदर्शले देवीगंज एफसीलाई ३–२ ले हराएको छ ।

पथरी रंगशालामा भएको खेलमा देवीगंजले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । खेलको १४औं मिनटमै बिजय लिम्बुको गोलबाट देवीगंजले खेलमा अग्रता बनाएको थियो ।

तर २९औं मिनटमा सुजन खत्रीले रियल ब्रदर्शका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । खेलमा दुवै टोलीले गोलका लागि प्रयास गरिरहेकै बेला रियल ब्रदर्शका लागि ४७औं मिनटमा देवराज गुरुङले दोस्रो गोल गरे ।

यद्यपि खेलको रोमाञ्चकता त्यतिमै रोकिएन । दोसे हाफतर्फ ६४औं मिनटमा दिपक राईले देवीगंजका लागि गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याईपुर्याए ।

खेल बराबरीतर्फ नै लम्किरहेका बेला रियल ब्रदर्शका लागि खेलको अन्तिमतिर तिर्थराज बस्नेतले तेस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाउनुका साथै महत्वपूर्ण तीन अंक समेत दिलाए ।

खेलको म्यान अफ द म्याच रियल ब्रदर्शका लागि निर्णायक गोल गरेका तिर्थ राज बस्नेत घोषित भए । उनलाई मदन भण्डारी स्पोर्टस एकेडेमी मोरङका उपाध्यक्ष मनोज बिक्रम शाहले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत पौष ३ गते शुक्रबारको खेल समूह ए तर्फबाट हेरिका न्यु स्टार एफसी र शिखर एफसीबीच हुने आयोजकले जनाएको छ ।

मोरङ स्थित पथरी शनिश्चरे नगरपालिका भित्रका आठ टोलीहरुको सहभागिता रहेको लिगमा सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

स्थानीय स्तर मै पहिलोपटक अक्सन मार्फत खेलाडीहरु खरिद गरि सञ्चालन भईरहेको लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

लिगको फाइनल खेल भने यहि आउँदो पौष ११ गतेका दिन हुने समेत आयोजकले जनाएको छ ।

Post Comments