News शिवनगरलाई निराश पार्दै झरना फाइनलमा
सुरज राना मगर

बुटवल । पेनाल्टी शुटआउटमा नतिजा आफ्नो पक्षमा पार्दै झरना स्पोर्टस क्लब यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा झरनाले शिवनगर युवा क्लबहलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो र अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी खेल मैदानमा भएको कडा प्रतिस्पर्धात्मक खेलमा झरनाले विपक्षीको आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । पाँचौं मिनटमा झरनाका खेलाडीको प्रहार क्लियर गर्ने क्रममा जनक कार्कीले आत्मघाती गोल गर्दा झरनाले खेलमा अग्रता लिन सफल भएको थियो ।

तर शिवनगरले पहिलो हाफमै खेलमा पूनःरागमन गर्यो । खेलको १५औं मिनटमा बक्स भित्र झरनाका गोलरक्षकले बललाई नियन्त्रणमा लिन नसक्दा सोही बललाई सुनिल श्रेष्ठले गोलमा परिणत गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा दुवै पक्षबाट गोलको प्रयास भए तापनि दुवै टोली थप गोल गर्न सफल भएनन् । उता दोस्रो हाफमा झरनाका निशान सुनारले मैदानको बाँया भागबाट गरेको सुन्दर प्रहार शिवनगरका गोलरक्षक किशोर थापाले आकर्षक रुपमा जोगाएका थिए ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टीमा भने शिवनगरका दुई खेलाडीको प्रहार पोष्ट बाहिरिए पछि झरनाले पेनाल्टी शुटआउटको नतिजा ४–२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

बिहीबारको खेलको म्यान अफ द म्याच भने पराजित टोली शिवनगरका किशोर थापा घोषित भए । उनलाई आयोजक सौभाग्य युवा क्लबका संरक्षक राजु गुरुङले पुरस्कृत गरे ।

दोस्रो सेमिफाइनलमा आयोजक सौभाग्य र सिद्धार्थ भिड्ने

प्रतियोगिता अन्तरगत पौष ३ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक सौभाग्य युवा क्लब र सिद्धार्थ युवा क्लबबीच हुने आयोजक क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु) ले जानकारी दिए । शुक्रबारको खेलमा जित हात पार्ने टोलीले पौष ५ गतेका दिन झरनासँग उपाधिका लागि फाइनलमा भिड्ने समेत रिजालले बताए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान साइकल पुरस्कार राखिएको छ भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक चक्र खड्काले बताए ।

गत मंसिर २० गतेदेखि जारी प्रतियोगितामा रुपन्देही, पाल्पा, र नवलपरासीका गरि कुल २० टोलीहरुले सहभागिता जनाएको समेत संयोजक खड्काले बताए ।

 

Post Comments