
बिर्तामोड । इटहरीको राष्ट्रिय जागृति क्लब यहाँ जारी प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारमा पुग्न इटहरीका गोलरक्षक निरज चौधरीको महत्वपूर्ण योगदान रह्यो ।
दार्जिलिङको जिटिएए ११ सँग इटहरीले निर्धारित समयमा १-१ गोलको बराबरी खेलेका थिए । त्यसपछि टाइब्रेकरमा दार्जिलिङलाई ४-२ गोलअन्तरले हराउँदै इटहरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा इटहरीका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो ।
जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन सफल भएको थियो । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे ।
यसअघि खेलको १७औँ मिनेटमा इटहरीका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिरगिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे ।
खेलको २०औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो । त्यसपछि इटहरीका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपर निगम सिंहले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो ।
खेलको २२औँ मिनेटमा जिटिएले खेल बराबरी गर्यो । देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलकिपर निरज चौधरीबाट रिबाउन्ड भएको बललाई उनले गोलमा परिणत गरेका हुन् ।
खेलको ६८औँ मिनेटमा इटहरी १० खेलाडीमा सीमित भयो । स्ट्राइकर मिलन राई विपक्षी गोलकिप्पर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भएको इटहरी त्यसपछि दबाबमा परेको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता इटहरीका गोलकिपर चौधरी भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।