News फुटबलका लागि नाम जस्तै धनी छन् 'अमिर'
सुरज राना मगर

हेटौडा । नेपाली फुटबललाई पछिल्लो केही बर्ष यता नजिकबाट नियाल्ने हो भने मकवानपुर जिल्लाले राम्रै खेलाडीहरु दिएको छ । बिष्ट दाजुभाई (रन्जन–अन्जन) देखि लिएर सुनिल बलसम्म अहिले नेपाली फुटबलमा चल्तीका नामहरु हुन् । त्यहि नाममा छुटाउन नहुने एउटा नाम पनि छ – अमिर श्रेष्ठ ।

पेशाले व्यवसायीक फुटबल खेलाडी अमिरको परिचयमा अहिले 'प्रशिक्षक' पनि जोडिएको छ । अर्थात् अमिरले नेपाली फुटबल कै लागि केही गरौं भनेर आफ्नै सक्रियतामा फुटबल प्रशिक्षण थालेका छन् । हेटौडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा अमिरले तत्कालका लागि एक महिने फुटबल प्रशिक्षण शुरु गरेका छन् ।

फुटबलमा लाग्न र केही सिक्न चाहने युवा फुटबल खेलाडीहरुको समूहलाई लक्षित गरेर प्रशिक्षण दिने योजना बनाएका अमिरले प्रशिक्षणका लागि चाहिने आवश्यक खेल सामाग्रीहरु पनि आफैले जोहो गरेका छन् । गाउँघर मै सिमित रहेका क्षमतावान युवा खेलाडीहरुलाई राम्रो प्रशिक्षण दिएर उनीहरुलाई फुटबल मै लाग्न अवसर प्रदान गर्ने योजना पनि अमिरको छ ।

सुख र दुःखसँगै फुटबलमा रमाएका अमिर

हेटौडामा जन्मिएर फुटबललाई नै कर्म बनाएका अमिरसँग देशका लागि विभिन्न उमेरसमूहमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएको अनुभव पनि छ । त्यति मात्र नभएर नेपाली फुटबलमा सक्रिय रहेका चर्चित क्लबहरु थ्रीस्टार, मच्छिन्द्र, एपिएफ, मनाङ हुँदै हाल च्यासलमा आवद्ध रहेका अमिरसँग नेपालको व्यवसायीक फुटबलको राम्रो र नराम्रो दुवै पाटाको अनुभव पनि छ ।

परिवारको जिम्मेवारीबोधका कारण केही बर्ष बिदेशी भूमिमा पसिना बगाएका अमिर अहिले फेरि नेपाली फुटबल मै सक्रिय छन् । फुटबलबाट अलग हुन नसकी विदेशी भूमिमा पनि समुदायस्तरको अन्तर्राष्ट्रिय फुटबल खेलेका अमिरको मन भने सधै नेपाली फुटबलतिरै थियो । केही बर्ष बिदेश बसाईपछि नेपाल फर्किएका अमिर फेरि फुटबल मै होमिए ।

गाउँघरका खेलाडीहरुको लागि प्लेटफर्म बनाउने अमिरको योजना

अमिरको योजनामा अहिलेको फुटबल प्रशिक्षण एक महिने मात्र रहेको बताउँछन् । उनका अनुसार फुटबल खेल्न इच्छुक रहेर पनि राम्रो प्लेटफर्म नपाएर गाउँघर मै सिमित रहेका स्थानीय फुटबल खेलाडीहरुलाई शहरमा ल्याई फुटबल प्रशिक्षण दिएर उनीहरुलाई एउटा प्लेटफर्म बनाइदिने योजना छ ।

अमिर भन्छन्, "क्षमता भएर पनि अवसर नपाएका खेलाडीहरुलाई प्लेटफर्म बनाई दिने र उनीहरुलाई आफूले जानेको ज्ञान र सिप सहित प्रशिक्षण दिएर कुशल फुटबल खेलाडी बनाउने प्रयास छ । अहिलेलाई एक महिने प्रशिक्षण दिन्छु । खेलाडीहरु प्रशिक्षणमा आइरहे भने २–४ महिना वा बर्ष दिन हुँदै सधै प्रशिक्षण दिन पनि सक्छु ।"

प्रशिक्षण कै लागि ४० किमि टाढाबाट बसमा आउनेहरु पनि छन्

हाल प्रशिक्षणमा सहभागि २०–२५ जना युवा खेलाडीहरु रहेको अमिरले बताए । अमिर अगाडी भन्छन्, "उनीहरुमा फुटबल सिक्ने इच्छाशक्ति पनि छ । प्रशिक्षण मै सहभागि कतिपय भाईहरु ४० किलोमिटर टाढाबाट आउँछन् । फुटबलप्रति उनीहरुको त्यो लगाव कै कारण प्रशिक्षण दिन पनि मलाई सहज भएको छ ।"

अमिरको प्रशिक्षक बन्ने चाहना पनि यथावत

कुराकानी कै क्रममा अमिरले फुटबल प्रशिक्षक बन्ने योजना रहेको पनि इच्छाए । भन्छन्, "फुटबल कोचिङ लाइसेन्स त छैन तर खुल्यो भने पक्कै पनि प्रयास गर्छु र लाइसेन्स पास गर्छु ।" कोचिङ लाइसेन्स लिएपछि फुटबल प्रशिक्षणमा लाग्न आफूलाई थप सहज हुने बुझाई अमिरको छ ।

बुझेको फुटबल, जानेको फुटबल, चिनेको फुटबल

आफूले बुझ्न थालेदेखि फुटबललाई पछ्याएका अमिरको दैनिकीमा परिवारसँगै फुटबल पनि मिसिएको छ । नेपाली फुटबलप्रति सधै आशावादी रहेका अमिरले फुटबल मै लागेर राष्ट्रका लागि केही गर्ने इच्छा पनि बुनेका छन् ।

उनी भन्छन्, "मैले चिनेको, बुझेको र जानेको नै यहि फुटबल हो । परिवार त आफैसँग छ । फुटबलका लागि केही गरौं भनेर नै खेलाडीसँगै प्रशिक्षकको नयाँ भूमिकालाई पनि अँगाल्ने प्रयास गरेको हुँ । फुटबलले मलाई सबथोक दियो वा दिएन भन्न सक्दिन तर फुटबलका लागि म चाहिं केही दिन चाहन्छु ।"

 

Post Comments