News पिपुल्स च्वाईस अवार्डको मनोनयनमा फुटबलकी 'साम्बा'
गोलनेपाल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा प्रदान गर्दै आएको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्डतर्फ पिपुल्स च्वाईस अवार्डको मनोनयनमा महिला फुटबलकी स्टार खेलाडी साबित्रा भण्डारी पनि परेकी छिन् ।

मञ्चले शुक्रबार एक कार्यक्रमको आयोजना गरि अवार्डतर्फको पिपुल्स च्वाईस अवार्डको मनोनयन पनि सार्वजनिक गरेको हो । स्मरणीय छ, अवार्ड कार्यक्रमको १७औं संस्करण यहि आउँदो पौष २८ गतेका दिन हुँदैछ ।

यो मनोनयनमा साबित्रासँगै पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ रहेका छन् । यो मनोनयनमा परेका मध्ये गौरिका र मन्डेकाजीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रमशः चार र दुई स्वर्ण जितेका थिए ।

उता महिला फुटबलकी साबित्रा, भलिबलकी अरुणा र बास्केटबलकी सदिनाले भने १३औं सागमा रजत जितेका थिए । यद्यपि दक्षिण एसियाली खेलकुदमा भलिबल र बास्केटबलमा नेपालले जितेको यो रजत पदक अहिलेसम्म कै उच्च पदक समेत थियो ।

ईसेवाबाट पनि भोटिङ गर्न सकिने

अवार्डका लागि मनोनयनमा परेकाहरुलाई ईसेवाबाट पनि मतदान गर्न सकिने मञ्चले जनाएको छ । जसमा ईसेवाको भोटिङ, फेसबुक लाईक, मञ्चमा आवद्ध पत्रकार सदस्यहरुको मत र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकहरुको मतका आधारमा अवार्ड विजेताको घोषणा गरिने समेत मञ्चले जनाएको छ ।

त्यस्तै भोटिङ अवधि शुक्रबार साँझ ६ बजेदेखि आउँदो पौष २७ गते रातीको १२ बजेसम्मलाई तोकिएको छ । पल्सर स्पोर्टस अवार्डमा यस कुल १० विधामा अवार्ड वितरण गरिने मञ्चले यसअघि नै जानकारी गराईसकेको छ ।

Post Comments