News पथरी प्रिमियर लिगः न्यु स्टारको जितमा बिबेक निर्णायक
गोपाल काफ्ले

पथरी । मोरङको पथरीमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ हेरिका न्यु स्टार फुटबल क्लबले लिगमा पहिलो जित दर्ता गरेको छ ।

शुक्रबार भएको समूह ए तर्फको लिगचरणको आफ्नो अन्तिम खेलमा हेरिकाले शिखर फुटबल क्लबलाई १–० को झिनो अन्तरले हरायो । पथरी रंगशालामा भएको खेलको आठौं मिनटमै बिबेक लिम्बुले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

शुक्रबारको खेलको म्यान अफ द म्याच भने हेरिका न्यु स्टार कै महेन्द्र मगर घोषित भए । उनलाई मोरङ जिल्ला फुटबल संघका महासचिव प्रकाश मास्केले पुरस्कृत गरे ।

यो जितसँगै समूह ए मा ३ खेलबाट ४ अंंक जोडेको हेरिका दोस्रो स्थानमा उक्लिएको छ । र सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । उता १ अंक जोडेको शिखर भने पुछारमा छ र समूह चरणबाट बाहिरिएको छ ।

त्यस्तै दुई खेलबाट ६ अंक जोडेको सिरिजंगा एफसी समूह ए को शिर्ष स्थानमा छ र सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । त्यसैगरी दुई खेलबाट २ अंक जोडेको हिम–अस हाइवे एफसी तेस्रो स्थानमा छ ।

हिम–असले समूह ए तर्फ लिगचरणको अन्तिम खेल शनिबार सिरिजंगासँग खेल्नेछ । सो खेलमा हिम–असले सेमिफाइनल प्रवेशका लागि निश्चित जित हात पार्नु पर्नेछ ।

पथरी शनिश्चरे नगरपालिका भित्रका कुल आठ टोलीहरुको सहभागिता रहेको लिगमा सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

आउँदो पौष ११ गते फाइनल खेल हुने लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद प्राप्त गर्नेछ ।

Post Comments