News झापा ११ लाई हराउँदै मच्छिन्द्र एफसी ११औँ फाल्गुनन्द गोल्डकपको क्वाटर फाइनलमा
गोलनेपाल

यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपमा मच्छिन्द्र फुटबल क्लबले झापा ११ फुटबल क्लबलाई पराजित गर्दै क्वाटर फाइनल खेलमा प्रवेश गरेको छ ।

मच्छिन्द्रसँग ५-० गोलको नतिजाबाट लज्जास्पद हार व्यहोरेको झापा ११ पहिलो चरणबाटै बाहिरिएको छ । आज भएको दोस्रो प्रि क्वाटर फाइनलमा मच्छिन्द्र झापामाथि एकलौटी हाबी बन्यो । पहिलो हाफको १९औँ मिनेटमा बिजु भुजेलको कर्नर किकमार्फत देवेन्द्र तामाङले गोल गर्दै अग्रता बनाएको मच्छिन्द्र पहिलो हाफमा ३-० गोलको अग्रतामा रह्यो । दोस्रो हाफमा थप दुई गोल गर्दै फराकिलो गोलअन्तरको जित दर्ता गरेको हो ।

मच्छिन्द्रको जितको लागि बिजु भुजेलले दुई, देवेन्द्र तामाङ, उत्सव राई र सौरभ सुब्बाको नाममा समान एक एक गोल रह्यो । खेलको प्लेयर अफ दी म्याच मच्छिन्द्रका बिजु भुजेल भए । उनले नगद दश हजार प्राप्त गरे ।

फाल्गुनन्द गोल्ड कपमा भोलि सोमबार पहिलो क्वाटर फाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् । १० टिम सहभागी रहेको गोल्ड कपको विजेताले १० लाख ५५५ र उपविजेताले ५ लाख ५५५ प्राप्त गर्नेछ ।

फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।

Post Comments