News सिद्धार्थ फाइनलमा, उपाधिका लागि झरनासँग भिड्ने
सुरज राना मगर

बुटवल । सिद्धार्थ युवा क्लब, चपरहट्टी बुटवलमा जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा दश खेलाडीमा सिमित भएर पनि सिद्धार्थले आयोजक सौभाग्य युवा क्लबलाई २–१ ले हरायो । बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको छैटौं मिनटमा सिद्धार्थका सरोज क्षेत्रीले बक्स नजिकैबाट पोष्टको बाँया कुना च्यापेर पहिलो गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको २३औं मिनटमा विश्वास थापाले सिद्धार्थको त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म सिद्धार्थले २–० कै अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफको ५२औं मिनटमा सिद्धार्थका शंकर राईले जानाजान बललाई हातले छुँदा रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए ।

सोही फलमा सौभाग्यले फ्रिकिको अवसर पनि पाएको थियो । जसलाई कप्तान यमु रानाले ५५औं मिनटमा बक्स बाहिरबाट सुन्दर फ्रिकिक गोलमा परिणत गर्न सफल भएका थिए । दोस्रो हाफमा दश खेलाडीमा सिमित हुन पुगेको सिद्धार्थमाथि दबाब कायम गरे तापनि सौभाग्यले थप गोल गर्न भने सकेन ।

शुक्रबारको खेलको म्यान अफ द म्याच सिद्धार्थ क्लबका डिफेन्डर अनुप थापा घोषित भए । उनलाई आयोजक सौभाग्य युवा क्लबका सचिव राकेश गुरुङले पुरस्कृत गरे ।

उपाधिका लागि झरना र सिद्धार्थको भिडन्त

शुक्रबार फाइनल स्थान सुरक्षित गरेको सिद्धार्थले अब उपाधिका लागि पौष ५ गते आइतबारका दिन झरना स्पोर्टस क्लब, कुञ्जलापुरसँग खेल्ने आयोजक क्लबका सल्लाहका राजेन्द्र रिजाल (राजु) ले जानकारी दिए । स्मरण रहोस, झरनाले बिहीबार मात्र भएको पहिलो सेमिफाइनलमा शिवनगर युवा क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

पत्रकार र आयोजक पदाधिकारी बीच मैत्रीपुर्ण फुटबल हुने

त्यसैगरी सल्लाहकार रिजालका अनुसार पौष ४ गते शनिबारका दिन बिश्राम दिइएको छ । साथै सोही दिन पत्रकार महासंघको टोली र आयोजक क्लबका पदाधिकारीहरुबीच मैत्रीपुर्ण फुटबल म्याच हुने जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिपक गुरुङले बताए ।

Post Comments