News पथरी प्रिमियर लिगमा आज महत्वपूर्ण भिडन्त
गोपाल काफ्ले

पथरी । टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ आज समूह ए को अन्तिम खेलमा महत्वपूर्ण भिडन्त हुँदैछ । पथरी रंगशालामा हुने आजको खेलमा हिम–अस हाइवे एफसी र सिरिजंगा एफसी भिड्दै छन् ।

समूह ए मा अपराजित सिरिजंगाले २ खेलबाट ६ अंक जोडेको छ र सेमिफाइनलमा यसअघि नै स्थान सुरक्षित गरेको छ । उता हिम–असको भने २ खेलबाट २ अंक छ । उसलाई आज निश्चित जितको खाँचो छ ।

हिम–असले जित हात पार्न नसकेको खण्डमा ४ अंक जोडेको हेरिका न्यु स्टार समूह ए बाट सेमिफाइनलमा प्रवेश गर्ने निश्चित छ । त्यसैले पनि हिम–अस हाइवेका लागि आजको भिडन्त निकै महत्वपूर्ण हुनेछ । स्मरण रहोस, आज हुने यो खेल समूह ए तर्फको लिगचरणको अन्तिम खेल समेत हो । समूह ए बाट शिखर एफसी भने बाहिरिसकेको छ ।

स्थानीयस्तर मै पहिलोपटक अक्सनमार्फत खेलाडीहरुलाई खरिद गरि आयोजना गरिएको लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

लिगमा सहभागि आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल पौष ११ गतेका दिन हुनेछ ।

Post Comments