News गोर्खा ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

फर्साटिकर । बलियो प्रत्याशीका रुपमा प्रस्तुत भएको गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा गोर्खा ब्वाईजले पाहुना टोली इन्टर नर्थ इष्ट एफसी, आसाम (भारत) लाई ५–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

गोर्खा ब्वाईजको जितमा फागुराम थारुले दुई गोल गरे भने निशान्त न्यौपाने, सदिप केसी र मनिष तामाङले थप एक–एक गोल गरे । पराजित नर्थ इष्टका लागि भने टि.एच. चिङ्गलेले एक मात्र गोल गरेका थिए ।

खेलमा दुई गोल गरेका गोर्खा ब्वाईजका फागुराम थारु म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २८ गते आइतबारको पहिलो सेमिफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकर र भैरव स्पोर्टस क्लब, नवलपरासी बीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।

Post Comments