News प्रदेश लिग माघको पहिलो सातादेखि
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ बर्ष २०२१ को मध्य जनवरी (माघको शुरुवाततिर) प्रदेश लिग सञ्चालन गर्ने भएको छ । प्रदेश लिग आयोजनाबारे एन्फा कम्प्लेक्समा बसेको बैठकले सो निर्णय गरेको हो ।

एन्फाका अनुसार प्रदेश लिगका खेलहरु प्रदेश नम्बर २, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा आयोजना हुने समेत बताइएको छ । उक्त बैठकमा सम्बन्धित प्रदेशका प्रतिनिधीहरु तथा एन्फा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साथै यो निर्णयसँगै सम्बन्धित प्रदेशहरुलाई आ–आफ्नो प्रस्तावहरु एक साता भित्र एन्फाको केन्द्रिय कार्यालयमा बुझाउन समेत भनिएको छ ।

सो अवसरमा एन्फाका केन्द्रिय उपाध्यक्ष बिर बहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साथै बैठकमा प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।

बी र सी लिग हुने पनि तय

स्मरण रहोस, एन्फाले बिहीबार मात्र गत बर्ष रोकिएको शहिद स्मारक बी डिभिजन लिग तथा सी डिभिजन लिग आयोजना गर्नेबारे पनि जानकारी गराएको थियो ।

एन्फाका अनुसार आउँदो फागुन ११ गतेदेखि स्थगित भएको बी डिभिजन लिगको बाँकी खेलहरु सूचारु हुनेछन् । त्यस्तै चैत १ गतेदेखि भने सी डिभिजन लिग हुने एन्फाले जनाएको छ ।

साथै एन्फाले यसबर्ष सी डिभिजन खेल्ने क्लबहरुलाई दिने तयारी खर्चमा दुई लाखले बृद्धि गर्दै ९–९ लाख रुपैयाँ तयारी खर्च दिने समेत घोषणा गरेको छ ।

 

Post Comments