News हिमालय गोर्खालाई फुटसल उपाधि
सुरज राना मगर

बुटवल । दोस्रो रुपन्देही खुला फुटसल प्रतियोगिताको उपाधि हिमालय गोर्खा फुटसल क्लबले जितेको छ । फाइनलमा कडा प्रतिस्पर्धाका बीच हिमालय गोर्खाले युनिक फुटसललाई ३–२ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

बुटवल स्थित लुम्बिनी फुटसल एरिनामा भएको प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा हिमालय गोर्खाले सेमिफाइनलमा ३५+ फुटसल क्लबलाई पराजित गरेको थियो भने युनिक फुटसलले रानीगंज फुटसललाई हराएको थियो ।

विजेता बनेको हिमालयले उपाधिसहित नगद ५५ हजार हात पार्यो भने उपविजेता युनिकले २५ हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी युनिक फुटसल कै निखिल थापा घोषित भए । उनले पुरस्कार वापत ट्रफीसहित दुई हजार हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक हिमालय गोर्खाका सौरव ठाकुर चुनिए । उनले पनि ट्रफीसहित २ हजार हात पारे । त्यस्तै प्रतियोगिताभरि समान ८ गोल गरेका हिमालय गोर्खाका प्रशान्त राई र सुमन लिम्बु तथा युनिक फुटसलका रबिन थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारेको खेल संयोजक सुशिल तामाङले बताए ।

बिजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक फूलबारी गाईज एफसीका अध्यक्ष शिव राना लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति अध्यक्ष रानाले धन्यवाद व्यक्त गरे । साथै आगामी दिनहरुमा पनि क्लबले सामाजिक कार्य र खेलकुद गतिविधीलाई निरन्तरता दिन हरसम्भव प्रयासरत रहने प्रतिवद्धता जाहेर गरे ।

रुपन्देहीमा खेलकुदसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको फूलबारी गाईज एफसीको आयोजनामा सम्पन्न दुई दिने प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments