
इटहरी । साँघुरो अन्तरको जितका साथ यहाँ सम्पन्न हिसान–एन्फा सुनसरी कप युथ नकआउट फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेण्डरी स्कुलले जितेको छ ।
इटहरी स्थित बुढासुब्बा खेलमैदानमा भएको फाइनलमा पूर्वाञ्चलले सुष्मा कलेजलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । विजेता बनेको पूर्वाञ्चलले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता सुष्मा कलेजलाई १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
पूर्वाञ्चलका कैलाश भुजेल फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पूर्वाञ्चल कै सुमित राई चुनिए ।
उत्कृष्ट डिफेन्डर सुष्मा कलेजमा युसन श्रेष्ठ बन्दा उत्कृष्ट मिडफिल्डर पूर्वाञ्चलका सक्षम प्रधान बने । उत्कृष्ट फरवार्ड सुष्मा कलेजका देवराज श्रेष्ठ चुनिदा उत्कृष्ट प्रशिक्षक पूर्वाञ्चलका सजिवन राई चुनिए । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र मेडल हात पारे ।
त्यस्तै सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीको पुरस्कार भने पूर्वाञ्चलका सिजल राईले हात पारे । उनले सर्वाधिक गोलकर्ता बने वापत ३ हजार र मेडल तथा सर्वश्रेष्ठ खेलाडी बने वापत ५ हजार र मेडल हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी हिसानका केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरे लगायतले पुरस्कृत गरेका थिए ।