News सुनौलो संगमको जितमा मनिषको 'डबल स्ट्राईक'
सुरज राना मगर

बुटवल । सुनौलो संगम युवा क्लब जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ सुनौलो संगमले लिस्नु युवा क्लबलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । शुद्धोदन–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको खेलमा सुनौलो संगमका लागि मनिष थापा एक्लैले दुई गोल गरे ।

यद्यपि पहिलो गोल भने सुनौलो संगमले पेनाल्टीबाट गरेको थियो । पहिलो हाफतर्फ बल जोगाउने क्रममा लिस्नुका गोलरक्षकले विपक्षी खेलाडीलाई बक्स भित्र फल गरेपछि सुनौलो संगमले पेनाल्टीको अवसर पाएको थियो । जसलाई १७औं मिनटमा रन्जित थापाले गोलमा परिणत गरेका थिए ।

त्यस्तै थप दुई गोल भने दोस्रो हाफमा सम्भव भयो । सुनौलो संगमका लागि ५३ र ८१औं मिनटमा मनिष थापा एक्लैले दुई गोल गर्दै टोलीको प्रभावशाली जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच भने सुनौलो संगम कै जिवन राई मगर घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष १३ गते सोमबारको खेल पाल्पा–११ र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल बीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४ फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने संयोजक भण्डारीले बताए । प्रतियोगिताको फाइनल खेल आउँदो पुष २५ गतेका दिन हुनेछ ।

Post Comments