News सुस्मितको ह्याट्रिकसँगै पाल्पाको फराकिलो जित
सुरज राना मगर

बुटवल । सुस्मित केसीले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि पाल्पा–११ ले जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपमा सोमबार फराकिलो जित हात पारेको छ ।

शुद्धोदन–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ पाल्पाले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारलाई ६–० को फराकिलो अन्तरले हरायो । र क्वाटरफाइनल यात्रा तय गर्यो ।

खेलमा शुरुवातबाटै विपक्षीमाथि हावी भएको पाल्पाका लागि सुस्मितले २४औं मिनटमा पहिलो गोल गर्दै टोलीका लागि खाता खोलेका थिए । त्यस्तै ३५औं मिनटमा सन्देश तिमिल्सनाले पाल्पाको त्यो अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म २–० को अग्रता बनाएको पाल्पाले दोस्रो हाफमा विपक्षीको पोष्टमा थप चार गोल थप्न सफल भयो । ५५औं मिनटमा पाल्पाका लागि सन्देश तिमिल्सनाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

पाल्पा त्यति मै रोकिएन । तेस्रो गोल खाएको तीन मिनट लगतै सुस्मित केसीले चौथो गोल गरे । त्यस्तै ७२औं मिनटमा मनिष गाहाले गोल गर्दै पाल्पाको अग्रता ५–० को स्थितिमा पुर्याए ।

खेलको अन्तिमतिर थप आक्रमक बनेको पाल्पाका लागि ८१औं मिनटमा सुस्मित केसीले छैटौं तथा व्यक्तिगत तेस्रो गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक आफ्नो नाममा गर्न समेत सफल भए ।

सोमबारको खेलमा ह्याट्रिककर्ता सुस्मित नै खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पुष १४ गते मंगलबारको खेल फूलबारी गाईज, बुटवल र सुपौली युवा क्लब, सुपौलीबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४ फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो पुष २५ गतेका दिन हुनेछ ।

Post Comments