News साफ च्याम्पियनसिपको नयाँ मिति तय
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनको १३औं संस्करणको प्रतियोगिता आयोजना मिति तय भएको छ ।

दक्षिण एसियाली फुटबल संघ (साफ) को सोमबार बसेको कार्यसमितिको भर्चुअल बैठकले १३औं साफ बंगलादेशमा आगामी बर्ष २०२१ को १४ देखि २५ सेप्टेम्बरसम्म हुने भएको छ ।

यसअघि यो प्रतियोगिता यसै बर्षको सेप्टेम्बर १९ देखि ३० तारीखसम्म हुने तय भएको थियो । यद्यपि विश्वव्यापी महामारी कोभिड–१९ का कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

यसअघि सन् २०१८ मा भएको साफ च्याम्पियनसिपको १२औं संस्करण पनि बंगलादेशले नै आयोजना गरेको थियो । १३औं संस्करण शुरुमा पाकिस्तानमा आयोजना गर्ने भनिए तापनि पछि बंगलादेश सारिएको थियो ।

सन् २०१८ मा सम्पन्न साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले दोस्रोपटक जित्न सफल भएको थियो । फाइनलमा माल्दिभ्सले भारतलाई २–१ ले हराउँदै उपाधि जितेको थियो ।

उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा भने नेपालले माल्दिभ्स कै हातबाट ३–० को हार बेहोरेको थियो ।

सोमबार साफ अध्यक्ष काजी मोहम्मद सलाहुद्दिनको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले साफ कँग्रेस, प्रतियोगिता क्यालेन्डर, बजेट लगायतका कुरामा पनि छलफल भएको थियो ।

उमेर समूहको प्रतियोगिताको मिति पनि तय

त्यस्तै सोमबार बसेको सो बैठकले विभिन्न उमेर समूहका साफ च्याम्पियनसिपको मिति पनि तय गरेको छ । जसअन्तरगत साफ यु–१६ महिला च्याम्पियनसिप आगामी बर्षको अगस्तको १८ देखि २७ तारीखसम्म हुनेछ । त्यस्तै साफ यु–१९ महिला च्याम्पियनसिप भने जुलाई १३ देखि २२ तारीखसम्म हुनेछ ।

त्यसैगरी पुरुषतर्फको साफ यु–१५ च्याम्पियनसिप अक्टुबर १ देखि १० तारीखसम्म हुनेछ भने साफ यु–१८ च्याम्पियनसिप अक्टुबर १५ देखि २४ तारीखसम्म हुनेछ । यद्यपि यी उमेर समूहका प्रतियोगिताहरुको खेलस्थल भने तय भइसकेको छैन ।

 

 

Post Comments