
धरान । कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत सम्राट स्र्पोटिङ क्लब, मोरङ र धाइजन चारआली फुटबल क्लब, झापाले जित हात पारेका छन् ।
धरान रंगशालामा भएको पहिलो खेलमा सम्राट स्र्पोटिङले लाइबेरी फुटबल क्लब, भोजपुरलाई ५–१ को फराकिलो अन्तरले हरायो । सम्राट स्र्पोटिङको जितमा हरि खवासले ह्याट्रिक गरे भने डेभिड मगर र पुजन बिकले थप एक–एक गोल गरे । पराजित लाइबेरीका लागि भने सुशान्त तामाङले एक मात्र गोल फर्काएका थिए ।
खेलमा ह्याट्रिक गरेका सम्राट स्र्पोटिङका हरि खवास प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।
अर्को खेलमा धाइजन चारआलीले देउराली युथ क्लब, धनकुटालाई ३–० ले हरायो । धाइजन चारआलीका लागि सागर रसाइलीले दुई गोल गर्दा निश्चल बस्नेतले थप एक गोल गरे । खेलमा चारआली धाइजनका सागर रसाइली प्लेयर अफ दि म्याच बने । उनले पनि नगद ५ हजार र मेडल हात पारे ।
प्रतियोगिता अन्तर्गत माघ ३० गते बुधबारको पहिलो खेल प्रगतिशील युवा क्लब, ताप्लेजुङ र बुइपा–११ फुटबल क्लब, खोटाङ बीच हुनेछ भने दोस्रो खेल गाईघाट फुटबल क्लब, उदयपुर र सम्राट स्र्पोटिङ क्लब, मोरङबीच हुनेछ ।