
काठमाडौं । चेल्सी वल्र्ड स्कुल १३औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा चेल्सी लगातार ३ खेल जित्दै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुगेको हो । चेल्सीले लोयल्टी ‘ए’ लाई ४–०, त्रिज्योतिलाई २–१ र हिमालयनलाई २–० गोलले पराजित गर्यो । शनिबार हुने त्रिज्योति र हिमालयनबीचको खेलले समूह ‘ए’ उपविजेता टुंगो लगाउने छ ।
समूह ‘सी’ बाट इस्टपोल विजेता र गेटवे एकेडेमी उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे । इस्टपोलले पिस प्वाइन्टलाई ४–० तथा गेटवे एकेडेमीलाई २–० गोलले हरायो । ३ टिम मात्र रहेको यो समूहमा गेटवेले पिस प्वाइन्टबाट वाकओभर पायो ।
अन्य समूह चरणको खेलमा हिमालयन बोर्डिङ स्कुलले लोयल्टी ‘ए’ लाई २–१ तथा त्रिज्योतिले लोयल्टी ‘ए’ लाई २–० ले पन्छाए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष आचार्यले विद्यालयस्तरका प्रतियोगिताबाटै नै भविष्यका प्रतिभावान खेलाडी पहिचान गर्न सकिने भएको हुँदा विद्यालय खेलकुदलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । फागुन ५ गतेसम्म चल्ने प्रतियोगितामा १४ टिम सहभागी छन् ।