News विश्वासको दुई गोलसँगै विश्व शान्ती क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । लामो समयपछि मैदानमा फर्किएका विश्वास श्रेष्ठ एक्लैले दुई गोल गरेपछि विश्व शान्ती युवा क्लब, सालझण्डी जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ विश्व शान्तीले फर्साटिकर एकेडेमीलाई ४–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । शुद्धोदन–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको खेलको दोस्रो मिनटमै आकाश बुढा मगरको गोलबाट विश्व शान्तीले खेलमा अग्रता लिएको थियो ।

३२औं मिनटमा लक्ष्मण केसीले विश्व शान्तीको त्यो अग्रता दोब्बर पारे । पहिलो हाफमा विपक्षी माथि हावी देखिएको विश्व शान्तीका लागि ३६औं मिनटमा विश्वास श्रेष्ठले तेस्रो गोल गरे ।

उता दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको फर्साटिकर एकेडेमीका लागि ५१औं मिनटमा सन्दिप चौधरीले पहिलो गोल फर्काए । घरेलु समर्थकहरुको साथ पाएर हौसिएको फर्साटिकर एकेडेमीका लागि ६०औं मिनटमा मनिष थापाले दोस्रो गोल गर्दा खेल ३–२ को रोमाञ्चक मोडमा पुगेको थियो ।

यद्यपि त्यसको तीन मिनट लगतै विश्वास श्रेष्ठले नै व्यक्तिगत दोस्रो तथा विश्व शान्तीका लागि चौथो गोल गर्दै टोलीको प्रभावशाली जित पक्का गरे । खेलमा म्यान अफ द म्याच भने फर्साटिकर एकेडेमीका सन्दिप चौधरी घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष १७ गते शुक्रबारको अन्तिम प्रिक्वाटरफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब र चाँदनी युवा क्लबबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो पुष २५ गतेका दिन हुनेछ ।

Post Comments