News दमदार गोलसहित मैदानमा फर्किए विश्वास
सुरज राना मगर

बुटवल । चोट र पारिवारिक पिडामा बल्झिएका राष्ट्रिय युवा फुटबल खेलाडी विश्वास श्रेष्ठ लामो समयपछि फेरि मैदानमा फर्किएका छन् । करिब ११ महिना लामो विश्राम पछि फुटबल मैदानमा फर्किएका विश्वासले उत्कृष्ट पूनःरागमन गर्न पनि सफल भए ।

रुपन्देहीमा जारी आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितातर्फ विश्वासले बिहीबार विश्व शान्ती युवा क्लब, सालझण्डीका लागि खेल्दै मैदान पूनःरागमन गरे । त्यति मात्र नभएर फर्साटिकर एकेडेमी विरुद्ध विश्व शान्तीले ४–२ को जित निकाल्दा विश्वास एक्लैले सुन्दर दुई गोल आफ्नो नाममा लेखाउँदै मैदानमा शानदार कमब्याक गरे ।

चोट अझै निको भएको छैनः विश्वास

बिहीबार सालझण्डीका लागि खेल्दै फुटबल मैदानमा फर्किएका विश्वासले आफू पूर्ण रुपमा फिट नभएको बताए । कुराकानीका क्रममा विश्वास भन्छन्, "त्यस्तो सिरियस त छैन । तर अझै पनि पूर्ण फिट भइसकेको छैन । विस्तारै खेलमा फर्किन चाहन्छु । र छिटै पूर्ण फिट हुनेमा आशावादी पनि छु ।"

बुवा घर फर्किदाको खुशी

गत भदौको शुरुवाततिर घरमा आगलागी हुँदा लाखौंको क्षति बेहोरेको विश्वासको परिवार मंसिर शुरुवात ताका अर्को पिडामा बल्झिन पुग्यो । घरायसी कामकै क्रममा करेन्ट लाग्दा घरमाथिबाट खस्न पुगेका विश्वासका पिता रुप नारायाण श्रेष्ठ गम्भिर रुपमा घाइते हुन पुगेका थिए ।

पिताको उपचारमा सबै खर्च सकिएपछि उनलाई फुटबल समर्थक, शुभेच्छुक र साथीहरुबाट आर्थिक सहयोग पनि उपलब्ध भएको थियो । त्यो अभियानका लागि सिनियर खेलाडी लक्ष्मण रुचाल सहित गोलनेपाल फाउण्डेशनले पनि आवश्यक पहल सहित सहयोग अभियान चलाएका थिए ।

विश्वासका पिताको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार पनि भएको थियो । हाल वालिङ, स्याङ्जा स्थित आफ्नै निवासमा फर्किएका पिताले स्वास्थ्य लाभ लिइरहेको विश्वासले बताए । पितासँगै घर फर्किएका विश्वास पनि खुशी छन् । उनी भन्छन्, "बुवा अहिले घरमै हुनुहुन्छ । पहिलेभन्दा स्वास्थ्यमा पनि सुधार आएको छ । बुवालाई छिटो निको हुनेमा विश्वस्त छु ।"

साथै विश्वासले कुराकानीका क्रममा आफूलाई यो परिस्थतिमा सहयोग र समर्थन गर्ने सबैप्रति धन्यवाद र आभार समेत प्रकट गरेका छन् । उनी अगाडी भन्छन्, "फुटबलमा लागेर हासिल गरेको एउटा उपलब्धी सबैको माया र साथ पनि हो । सबैको त्यहि साथले आज म फेरि मैदानमा फर्किन सफल भएको छु । त्यसका लागि सबैलाई हृदयदेखि धन्यवाद पनि दिन चाहन्छु ।"

Post Comments