News साविक विजेता मच्छिन्द्र फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

झुरझुरे । प्रभावशाली जितका साथ मच्छिन्द्र फुटबल क्लब जारी सातौं बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले थ्रीस्टार क्लबलाई ३-१ ले हराउँदै उपाधी नजिक पुगेको हो । 

सहिद स्मृति रंगशालामा अग्रता भने थ्रीस्टारले लिएको थियो ।३७औं मिनेटमा एलेक्सको गोलबाट अग्रता बनाएको थ्रीस्टारले त्यो अग्रता जोगाउन सकेन ।

मच्छिन्द्रका लागि ४२औं मिनेटमा शिशिर लेखीले बराबरी गोल फर्काए भने ५१औं मिनेटमा समिरराज थोकरले दोस्रो गोल थपे । त्यस्तै ८८औं मिनेटमा स्टेफनले तेस्रो गोल गर्दै मच्छिन्द्रको जित पक्का गरे । 

खेलमा मच्छिन्द्रका कप्तान देवेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए । मच्छिन्द्रले अब सोमबार हुने फाइनलमा चर्छ ब्वाईजसँग उपाधिका लागि भिड्नेछ ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

 

Post Comments