News झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
रमेश समदर्शी

झापा ११ फुटबल क्लब यहाँ जारी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई हराउँदै झापा ११ ले अन्तिम चारमा स्थान बनाएको हो । झापा ११ ले २-१ गाेलअन्तरमा चर्च ब्वाइजमाथि जित दर्ता गरेकाे हाे । झापा ११ का लागि एरोन थापामगर र कप्तान पेमा तामाङले गोल गरेका हुन् । यसैगरी, चर्च ब्वाइजका लागि विक्रम धिमालले सान्त्वना गोल गरे । पहिलो हाफमा झापा ११ का एराेन थापामगरले खेलको १४औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।

चर्च ब्वाइजका गोलकिपर क्रिसल मोक्तान अगाडि बढेको मौकामा एरोनले गोल गरेका हुन् । तर, पहिलो हाफको अन्त्यतिर विक्रम धिमालले गोल गर्दै ११ को बराबरीमा ल्याएका हुन् । खेलको ४१औँ मिनेटमा विक्रमको गोलबाट चर्च ब्वाइजले कमब्याक गरेको थियो । झापा ११ का लागि कप्तान पेमाले निर्णायक गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा चर्च ब्वाइजका किपर क्रिसलबाट रिबाउन्ड बललाई पेमाले गोलपोस्टको दिशा दिएका थिए । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद २१ हजार पाउन सफल भए । भोलि आइतबार काठमाडौँको न्यू रोड टिम र बंगलादेशको काउरन बाजार प्रगति संघबीच तेस्राे क्वाटरफाइनल खेल हुनेछ ।

गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाखसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार दिइनेछ ।

Post Comments