News चाँदनीसँग स्तब्ध बन्यो आयोजक फर्साटिकर
सुरज राना मगर

बुटवल । उपाधिको दावेदार तथा साविक विजेता आयोजक फर्साटिकर युवा क्लब जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ ।

शुक्रबार भएको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले चाँदनी युवा क्लब, दानापुरसँग पेनाल्टी शुटआउटतर्फ सडन डेथमा ३–२ ले निराश हुँदै प्रतियोगिताबाटै स्तब्धपुर्ण रुपमा बाहिरिन पुगेको हो ।

शुद्धोछन–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेल मैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफ कै २५औं मिनटमा मुकेश कुँवरको सुन्दर फ्रिकिक गोलबाट फर्साटिकरले खेलमा अग्रता बनाएको थियो ।

यद्यपि चाँदनीले पहिलो हाफ मै खेलमा पूनःरागमन गर्न सफल भयो । फर्साटिकरका खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि चाँदनीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई इन्द्र पुनले प्रहार गरे तापनि फर्साटिकरका गोलरक्षक शुभांकर जिसीले जोगाएका थिए । तर रिबाउण्ड भएको सोही बललाई ३०औं मिनटमा पुनले नै गोलमा परिणत गरेका थिए ।

पेनाल्टी शुटआउटतर्फ भने फर्साटिकरका चार खेलाडीले बललाई पोष्टको सही दिन दिन सकेनन् । उता चाँदनीका लागि तीन खेलाडीले पेनाल्टी मिस गरे । तर पनि आयोजक विरुद्ध दर्शकहरुको राम्रो साथ पाएको पाहुना टोली चाँदनीले रोमाञ्चक जित निकाल्न सफल भयो ।

खेलको म्यान अफ द म्याच फर्साटिकर कै गोलरक्षक शुभांकर जिसी घोषित भए । प्रतियोगिता अन्तरगत पुष १८ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल भैरव स्पोर्टस क्लब, नवलपरासी र सुनौलो संगम युवा क्लब, देविनगरबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख हात पार्ने संयोजक भण्डारीले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।

Post Comments