News 'सडन डेथ'को जितसँगै सुनौलो सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । सुनौलो संगम युवा क्लब जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा सुनौलोले भैरव स्पोर्टस क्लब, नवलपरासी विरुद्ध सडन डेथमा ६–५ को कठिन जित निकाल्दै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।

शुद्धोदन–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयतर्फ खेलमा दुवै टोलीले गोलको प्रयास गरे तापनि सफल भएनन् ।

खेलको दोस्रो हाफमा भैरवका गोलरक्षक रोशन थापा गम्भिर घाइते भई मैदान बाहिरिएपछि टोली केही दबाबमा परेको थियो । पेनाल्टी शुटआउटमा रोशन कै स्थानमा मैदान प्रवेश गरेका वैकल्पिक गोलरक्षक प्रबिन गुरुङले पेनाल्टी मिस गर्दा भैरव खेलमा चुकेको थियो ।

शनिबारको खेलको म्यान अफ द म्याच भैरवका कप्तान कान्छा गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत पुष १९ गते आइतबारको खेल सेन्ट्रल कलेज भरतपुर एफसी र पाल्पा–११ बीच हुने खेल संयोजक टेकु भण्डारीले बताए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष २५ गतेका दिन हुनेछ ।

Post Comments