News प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल शुरु
सुरज राना मगर

बुटवल । रुपन्देहीको देवदहमा प्रथम चरङ्गे कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा रम्भादेवी फुटबल क्लबले विजयी शुरुवात गर्यो ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको उद्घाटन खेलमा रम्भादेवीले आयोजक चरङ्गे युवा क्लब (बी) लाई टाईब्रेकरमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलको म्यान अफ द म्याच भने पराजित चरङ्गे एफसीका सागर परियार घोषित भए । प्रतियोगिता अन्तरगत पुष १९ गते आइतबारको खेल पत्थरडाँडा युवा क्लब र शिवनगर युवा क्लबबीच हुने खेल संयोजक गणेश परियारले बताए ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मूल नाराका साथ चरङ्गे फुटबल क्लब, देवदह–१० को आयोजनामा शुरु प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने । त्यस्तै व्यक्तिगत विधातर्फ पनि अन्य पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments