
रामधुनी । क्लब अल्टिट्युट इटहरी–२, सुनसरीको आयोजनामा सम्पन्न दोस्रो अल्टीट्युट रनिङ कप फुटबल प्रतियोगिता २०८१ को उपाधि तालतलैया फुटबल क्लब सुनसरीले हात परेको छ ।
पञ्चायन खेलमैदानमा सम्पन्न फाइनल खेलमा विजय उराउको दुई गोलसँगै तालतलैयाले उपाधि हात पार्न सफल भएको हो। खेलको पाँचौ मिनेटमा सिजल राईको असिष्टमा विजयले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । त्यसैगरी दोस्रो हाफको ४४औं मिनेटमा आरेस चौधरीको असिस्टमा विजयले दोस्रो गोल गर्दै जीत सुनिश्चित गराएका हुन् । खेलको ६३ औं मिनेटमा किरन शंकरले गोल गर्दै लेटाङको लागि अग्रता छोट्याएका थिए । त्यसपश्चात दुबै तर्फबाट गोल हुन नसक्दा २–१ को अवस्थामा तालतलैयाले उपाधि चुमेको हो ।
विजेता टोली तालतलैया फुटबल क्लबले नगद रु. २,२२,२२२।- पन्ध्र तोला चाँदी जडित आकर्षक रनिङ ट्रफी प्राप्त गर्दा उपविजेतामा सिमित बनेको लेटाङ फुटबल क्लबले रु.१,११,१११।- रुपैयाँमा चित्त बुझाएको छ।
व्यक्तिगत विधातर्फ पनि तालतलैयाकै वर्चस्व रहँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि तालतलैयाका सविन घिमिरे, उत्कृष्ट गोल रक्षक निरज चौधरी, सर्वाधिक गोलकर्ता विजय उराउ, उत्कृष्ट फरवार्ड सीजल राइ,उत्कृष्ट मिडफिल्डर निवस फुयाल बनेका हुन्। बेस्ट डिफेन्डर भने लेटाङका राजु मगर बनेका थिए ।
प्रतियोगिताको उदयमान खेलाडि भने आयोजक अल्टीट्युट क्लबका अनिश राज धामी चुनिएका थिए । फाइनल खेलको म्यान अफ दि म्याच भने लेटाङका खमीर गिल्सन बने । व्यक्तिगत विधाका सम्पूर्ण विजेताले समान नगद रु २५०० को साथमा ट्रफी प्राप्त गरे ।