बुटवल । फुटबल खेल्ने क्रममा चोटिल बनेका रुपन्देहीका चल्तीका खेलाडी विश्वास थापा मगरलाई हौसला स्वरुप जिल्ला कै परिचित क्लब लिस्नु युवा क्लब, कोटिहवा, तिलोत्तमाले आर्थिक सहयोग गरेको छ ।
रुपन्देहीसहित मोफसलका अन्य जिल्ला तथा आरसिटी क्लबबाट लिग समेत खेल्न भ्याएका विश्वास थापा एक वर्ष अघि गोरखामा खेल्ने क्रममा घाइते भएका थिए । चोटिल विश्वासको त्यतिबेलै काँधमा रड हालेर शल्यक्रिया गरिएको थियो । सोही रडलाई केही दिन अघि मात्र पूनः शल्यक्रिया गरेर निकालिएको थियो ।
सोही शल्यक्रियाका लागि थप उपचार खर्च लाग्ने भएपछि लिस्नुले विश्वासलाई प्रोत्साहन र सहयोग रकम वापत २० हजार उपलब्ध गराएको हो । उक्त रकम क्लबका अध्यक्ष तिर्थराज मल्ल, उपाध्यक्ष नेम गुरुङ, कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्री, सचिव मनोज क्षेत्री, सदस्यहरु अशोक थापा, कुशल भण्डारी, एमोस पुन, गोबिन थापा, लगायतको उपस्थितिमा विश्वासका भाई विश्व थापा मगरलाई उपलब्ध गराइएको हो ।
स्मरणीय छ, मोफसलमा हुने अधिकांश फुटबल प्रतियोगितामा लिस्नुले सहभागिता जनाउँदा विश्वास र विश्व दुवैले लिस्नुका लागि खेल्दै आएका छन् । आफ्नै जिल्लाका खेलाडीहरुलाई सानो भए पनि सहयोग गरेर उनीहरुलाई हौसला र प्रोत्साहन मिल्ने विश्वास लिएको लिस्नुका अध्यक्ष तिर्थराज मल्लले बताए । साथै उनले विश्वासको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
लिस्नुले वार्षिक रुपमा राष्ट्रियस्तर कै लिस्नु कप फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ । खासगरी फुटबल मै सक्रिय रहे तापनि लिस्नुले हरेक वर्ष सामाजिक कार्यहरुमा पनि काम गर्दै आईरहेको छ ।