
बभनी । रोमाञ्चक जितका साथ यहाँ सम्पन्न पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले जितेको छ ।
शनिबार भएको फाइनलमा नवयुवाले लिस्नु युवा क्लब, कोटिहवालाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
खेलमा लिस्नुका लागि मनिष थारु र विश्व थापाले गोल गर्दै टोलीलाई स्पष्ट अग्रता दिलाए तापनि नवयुवाका लागि कप्तान संगम सोमरे र अरुण चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने नवयुवा ४–३ ले विजयी बन्यो ।
विजेता बनेको नवयुवाले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता लिस्नुले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । लिस्नुका विश्व थापा फाइनल खेलको म्यान अफ दि म्याच बने ।
अन्य विधातर्फ नवयुवाका कप्तान संगम सोमरे प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक नवयुवाका आयुष बुढा मगर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि नवयुवा कै सुरज थारुले हात पारे । उदीयमान खेलाडी आयोजक नयु राईज कै बिनिस गुरुङ चुनिए ।
विजेता, उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामकृष्ण खाँड, आयोजक न्यु राईज युथ क्लबका अध्यक्ष बिकास भण्डारी लगायतले पुरस्कृत गरेका थिए ।