News चर्च ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । संघर्षपुर्ण जित निकाल्दै चर्च ब्वाईज युनाइटेड, ललितपुर जारी २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंमाथि टाईब्रेकरबाट जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा चर्च ब्वाईजले पुलिसमाथि ४–३ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्यो ।

खेलमा चर्च ब्वाईजका अमन लामा म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे । प्रतियोगिता अन्तर्गत चैत्र ११ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल संकटा फुटबल क्लब, काठमाडौं र जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतबीच हुने आयोजकले जानकारी दियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १६ गतेका दिन हुनेछ ।

Post Comments