News एपिएफ २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा
सुरज राना मगर

बुटवल । साँघुरो अन्तरको जितका साथ विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं जारी २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले संकटा फुटबल क्लब, काठमाडौंलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको अन्तिमतिर युवराज खड्काले गरेको एक मात्र गोल एपिएफलाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो ।

खेलका निर्णायक गोलकर्ता एपिएफका युवराज खड्का म्यान अफ दि म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे । प्रतियोगिता अन्तर्गत चैत्र १४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, क ाठमाडौं र चर्च ब्वाईज युनाइटेड, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १६ गतेका दिन हुनेछ ।

Post Comments